दफा ४५२
दोहोरो बन्धकी दिन वा हस्तान्तरण गर्न नसकिने

(१) एक पटक बन्धकी दिएको सम्पत्ति दोहोरो पारी अर्को व्यक्तिलाई बन्धकी दिन वा हस्तान्तरण गर्न सकिने छैन ।
(२) उपदफा (१) विपरीत कसैले दोहोरो पारी बन्धकी दिएकोमा अघिल्लो मितिमा रजिष्ट्रेशन पारित भएको लिखतले मान्यता पाउनेछ र पछिल्लो लिखत स्वतः बदर हुनेछ ।
(३) उपदफा (२) बमोजिम लिखत बदर भएकोमा जानीजानी दोहोरो पारी लिखत गरी लिने साहूको रकम भूस हुनेछ र थाहा नपाई लिएको भए कपाली सरह हुनेछ ।
(४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दोहोरो लिखत भएकोमा पहिलो लिखतबाट कुनै किसिमको बन्धकी र पछिल्लो लिखतबाट हक हस्तान्तरण भएकोमा हक हस्तान्तरण गरी पाउनेले पहिलो बन्धकी लिखत बमोजिमको रकम चुक्ता गरी लिखत बमोजिम हक कायम गर्न सक्नेछ ।
(५) यस दफा बमोजिम दोहोरो लिखत गरिदिनेलाई पछिल्लो लिखतको बिगो देखिए त्यस्तो विगो बमोजिम, त्यस्तो बिगो नदेखिए अघिल्लो लिखत बमोजिम र त्यस्तो विगो पनि नदेखिए पच्चीस हजार रुपैयाँसम्म जरिबाना हुनेछ । तर जतिसुकै विगो भएपनि एक लाख रुपैयाँभन्दा बढी जरिबाना हुने छैन ।
(६) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बन्धकीको दोहोरो लिखत भई पहिलो लिखत भोगबन्धकी दिएकोमा त्यस्तो लिखत भएको मितिले दुई वर्ष र दृष्टिबन्धकी दिएकोमा भोग गर्न पाउने अवस्था भएको मितिले दुई वर्षभित्र भोगाधिकार कायम गर्नु पर्नेछ ।
(७) उपदफा (६) बमोजिम भोगाधिकार कायम गर्न नसकेमा साहूको रकम कपाली सरह हुनेछ ।